५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


टौदहमा खानेपानीको विषयमा छलफल भइरहँदा दुई पक्षबीच हात हालाहाल


0
Shares

काठमाडौं, साउन २४ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६, टौदहमा खानेपानीको विषयमा सार्वजनिक छलफल भइरहँदा शुक्रबार दुई पक्षबीच हात हालाहाल भएको छ । सोक्रममा केही व्यक्ति घाइते भएका छन् ।

पानी व्यापारीले ‘डिप बोरिङ’का लागि वडा कार्यालयमा निवेदन दिएपछि स्थानीय आक्रोशित भएका हुन् ।

निवेदनउपर छलफलका लागि स्थानीयवासी, जनप्रतिनिधि र निवेदकबीच छलफलकाक्रममा विवाद उत्पन्न भएको हो ।

नौमुले मुहानको पानी उपभोग गर्दै आइरहेका स्थानीयले व्यापारीहरुले बोरिङ गरेर पानी झिके मुहान सुक्ने भन्दै डिप बोरिङ गर्न नहुने अडान राखेका छन् ।

बोरिङ गरेर पानीको व्यापार कुनैपनि हालतमा गर्न नदिने स्थानीयको चेतावनी छ ।

डिप बोरिङका कारण पानीको मुहान सुक्ने भएकाले व्यापारिक प्रयोजनका लागि पानीको प्रयोग गर्न नदिने चाल्नाखेल खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष राजेश परियार बताउँछन् ।

कीतिपुर नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले विवादकाबारे वडामा छलफल गरेर बहुमतको सुझावबमोजिम प्रतिवेदन तयार पारी खानेपानी बोर्डमा पठाउने बताए ।

आक्रोशित स्थानीयले ‘पानीको व्यापार गर्न पाइँदैन’ भन्दै नाराबाजीसमेत गरेका थिए ।