
प्रकाश लम्साल
बारा, साउन २४ । बाराको जितपुर–सिमरामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति पाउने भएको छ ।
मुआब्जा र रुख कटानको विषयमा विवाद हुँदा ढिलाइ भएको विमानस्थलको मुख्य कामले सो समस्या टरेसँगै गति पाउने भएको हो ।
मंसिरमा हुने शिलान्याससँगै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाको प्रमुख कामले गति पाउने भएको छ । ५ वर्षभित्र एउटा धावनमार्ग र टर्मिनल भवन बनाई सञ्चालनमा ल्याउने लक्ष्यका विमानस्थल निर्माणको काम भइरहेको छ ।
धावनमार्गमा पर्ने टाँगिया बस्ती पुनर्वासका लागि सरकारले २० करोड रुपैयाँ पठाइसकेको छ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले मंसिरमा विमानस्थलको शिलान्यास गर्ने घोषण गरेसँगै तयारी तीव्र पारिएको हो ।
बस्तीलाई बाराको कोहल्बी नगरपालिका वडा ५, ६ ,३ र सिमरा जितपुर नगरपालिकाअन्तर्गत रहेका बुट्यान र झाडी क्षेत्रमा पुनर्बास गर्ने तयारी छ । नागरिक उड्डययन प्राधिकरणले धावनमार्ग र टर्मिनल भवन निर्माणको डिजाइनका लगि कन्सल्टेन्सी छान्ने काम सुरु भएको जनाएको छ । आयोजना प्रमुख ओमप्रसाद शर्मा पुनर्बास र गुरुयोजनासँगै आयोजनाको मुख्य कामले गति लिने बताउँछन् ।
बस्ती पुनस्र्थापनाको काम प्रक्रियामा गएको छ भने त्यसका लागि ४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाका काममा मुख्य बाधक बनेको टाँगिया बस्ती स्थानान्तरणको विषय समाधान हुनुले मुख्य कामका लागि मार्गप्रशस्त भएको हो ।
यता, टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा आफूहरु विकासविरोधी नभएकाले राज्यले दिएको ठाउँमा सर्न तयार भएको धारणा राख्छन् ।
उक्त बस्तीमा १४ सय ७६ घरघुरी र ७ सय ३१ बिगाह १४ कठ्ठा ऐलानी जमीन प्रयोग भएको छ । आयोजनाको कामले गति लिने भएपछि बाराबासी सबैभन्दा बढी उत्साहित देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्