
सर्लाही । सरकारले आर्थिक वर्ष २०७५÷७६ मा सर्लाहीका उखु किसानलाई दिनुपर्ने प्रोत्साहन अनुदान हालसम्म भुक्तानी गरेको छैन ।
सरकारले उखु किसानलाई प्रतिक्विन्टल प्रोत्साहन अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने नीति छ ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार गत आर्थिक वर्षमा उखु बिक्री गरेबापत किसानले सरकारबाट एक पैसा पनि अनुदान पाएका छैनन् ।
आर्थिक वर्ष २०७४/०७५ को पनि करिब एक करोड ४३ लाख रुपैयाँ किसानले अनुदानबापतको रकम सरकारबाट हालसम्म पाएका छैनन् ।
गत आवको करिब एक करोड ९० लाख क्विन्टल उखु किसानबाट चिनी उद्योगीले खरिद गरी क्रसिङ गरेका थिए ।
यो परिमाणको अनुदानबापतको रकम एक अर्ब २४ करोड तीन लाख २० हजार रुपैयाँ किसानले हालसम्म पाएका छैनन
गत आवमा एक करोड ९० लाख क्विन्टल उखु क्रसिङ गरी २३ लाख क्विन्टल चिनी उत्पादन भएको थियो ।
चिनी उद्योगीले उखु किसानबाट खरिद गरेको उखुको परिमाणका आधारमा जिल्ला प्रशासन कार्यालयको भुक्तानी समितिलाई सिफारिस गरेका आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले अनुदान रकम भुक्तानी गर्ने व्यवस्था छ ।
गत आर्थिक वषर्मा उखु खरिद गरेका उद्योगले अहिले पनि किसानलाई करिब तीन अर्ब रुपैयाँ भुक्तान गर्न बाँकी रहेको बताइएको छ ।
बाबा बैजनाथ, इन्दुशंकर, रिलायन्स, इन्दिरा, एभरेस्ट, इस्टर्न, वागमती, लुम्बिनी, महाकाली र श्रीराम सुगर मिलले किसानलाई भुक्तानी गर्न बाँकी भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्