
काठमाडौं, साउन १९ । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको भौतिक निर्माणको काम २२ प्रतिशत सम्पन्न भएको छ ।
कूल ९०० मेगावाट क्षमताको यो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ । आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी स्थापना गरिएको छ ।
कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी आयोजनाको भौतिक प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण–३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । आयोजना निर्माणमा समस्या देखिए सरकारले आवश्यक सहजीकरण गरिदिने पनि उनले बताए ।
सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको र सुरक्षा प्रबन्धको व्यवस्था पनि मिलाएको उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत धिमानले परियोजना समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरुङ निर्माणमा १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको धिमानले जानकारी दिए ।
यो आयोजनाबाट उत्पादित कुल विद्युतको २१ दशमलव ९ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध हुनेछ । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्