
काठमाडौं, साउन १८ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिइ विदेश पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ ।
पूर्वस्वीकृतिबिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले शनिबार सो म्यानपावरमा छापा मारेको हो ।
सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिइ मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज कम्पनीका लागि कामदार छनोट गर्न भन्दै अन्तर्वार्ता लिइरहेको थियो ।
अन्तर्वार्ताका लागि करिब १५० युवा उक्त म्यानपावर कम्पनी पुगेका थिए ।
विभागबाट पूर्वस्वीकृति लिएको कागजात देखाउन नसकेपछि अनुगमन टोलीले अन्तर्वार्ता स्थगित गर्न सो म्यानपावरलाई निर्देशन दिएको छ ।
अन्तर्वार्ताकाक्रममा म्यानपावरले संकलन गरेको राहदानीलगायत कागजात फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले म्यानपावर सन्चालकलाई २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्