२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बैंकहरुको ‘फोर्स मर्जर’ नै हुन्छ : डेपुटी गभर्नर शिवाकोटी


0
Shares

काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार प्रोत्साहन गर्दा ‘मर्जर’मा नगए ‘फोर्सफूल’ मर्जरमा लैजाने तयारी गरेको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुको संख्या घटाउने नीति भएको भन्दै आवश्यक परे फोर्सफूल मर्जरमा पनि जाने बताए ।

‘बिग मर्जर’मा जानका लागि राष्ट्र बैंकले तयारी गरिरहेकाले पहिला स्वेच्छिक र स्वेच्छिकबाट नभए फोर्सफूल मर्जरमा जानका लागि तयार रहेको उनले बताए ।

राष्ट्र बैंकले स्वेच्छिकरुपमा मर्जरमा जाने बाटो खुला गर्दा पनि संख्या नघटेमा बाध्यकारी मर्जरको तयारी गर्ने शिवाकोटीको भनाइ छ ।

राष्ट्र बैंकले ‘स्प्रेड’दर अन्तर्राष्ट्रिय मापदन्डअनुसार कायम गराउने तयारीमा रहेको र अन्तरबैंक कारोबारलाई मुख्य प्राथमिकतामा राखेको पनि उनको भनाइ थियो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले उद्योगी र बैंकरहरुलाई छुट्याउने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिए ।

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनका लागि राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

व्यवसायीहरुले भने व्याजदर बढी भएकाले घटाउनुपर्ने बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तरलताको अभावको कारण बैंकहरुमा ऋणका लागि जाँदासमेत ऋण नपाउने अवस्था आएको बताए ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले मर्जरको नाममा विकास बैंक तथा वित्तीय संस्थाहरु मास्न नहुने बताए ।

मौद्रिक नीति व्यवसायीभन्दा पनि बैंकका लागिमात्रै आएको उनको भनाइ थियो ।