
काठमाडौं, साउन १५ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेपको सुरक्षाका लागि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी नियुक्त गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।
हालसम्म कुनैपनि बैंक तथा वित्तीय संस्थाको सीइयो नियुक्ति गर्दा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने थिएन ।
तर, अब केही समयभित्रै कुनैपनि बैंक तथा वित्तीय संस्थाले सीइयो नियुक्ति गर्नुपूर्व नियुक्ति गर्न लागिएको सीइयोबारे केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
मंगलबारको लेखा समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपालले प्रमुख कार्यकारी नियुक्तिमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने बताएका थिए ।
सर्वसाधारणको पैसाकोे सुरक्षणका लागि यस्तो व्यवस्था गर्न लागिएको प्रवक्ता निरौलाले बताए ।
यो व्यवस्था खुला बजार अर्थनीतिविपरीत नहुने पनि राष्ट्र बैंकको तर्क छ ।
यस्तो व्यवस्था अन्तर्राष्ट्रिय प्रचलन नै रहेको राष्ट्र बैंकको भनाइ छ ।
यो व्यवस्थाबारे सरोकारवालाहरुसँग छलफल भने गरिने प्रवक्ता निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्