४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कन्टेनर र कार ठोक्किएपछि कन्टेनर त्रिशूलीमा खस्यो, एकजना बेपत्ता


0
Shares

चितवन, साउन १५ । नारायणगढ–मुग्लिन सडकखन्डमा कन्टेनर र कार एकापसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ ।

इच्छाकामना गाउँपालिका–६, जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् ।

कारमा सवार सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार बेपत्ता हुनेमा वीरगन्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा२१च ११३३ नम्बरको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख ३९३९ नम्बरको खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भइ त्रिशूलीमा खसेको हो ।

कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ ।

कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगन्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

कन्टेनरसँग ठक्कर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस