
हेटौंडा । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले मकवानपुरमा दुई वटा गाडिमा आगजनी गरेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना. ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा. १४ च ८२३५ नं को कारमा आगजनी गरेका हुन् ।
आगजनीका कारण कार पूर्णरुपमा क्षति भएको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी चन्द समूहका कार्यकर्ताले हेटौंको थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ ।
वडा कार्यालयमा अपरिचित मानिसको समूहले गएराति आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन्
यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा पनि गएराति बम विस्फोट भएको छ ।
विस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ ।
आगजनी तथा बिस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले चन्द समूहका कार्यकर्ताको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस्