४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


रोपाइँ सकेर रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो


0
Shares

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ ।

खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको भीड लागेको हो ।

गड्डाचौकी नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तुलाराज गिरीले बताए ।

उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि वृद्धसम्म रहेका छन् ।

उनीहरु रोपाइँ सकिएपछि दसैं खर्च जुटाउन भारतको सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गर्दछन् ।

धान रोपिसकेपछि तीन÷चार महिना खाली बस्नुपर्ने भएकाले रोपाइँ सकेर रोजगारीका लागि भारत जान लागेको बर्दियाका गणेश चौधरीले बताए ।

उनले नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण आफूहरु छोटो समयका लागि पनि भारतमै निर्भर हुनुपरेको गुनासो गरे ।

साउनको पहिलो सातादेखि रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्ने गरेको छ ।