Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सय वर्ष पुरानो सुरुङमार्ग अलपत्र (हेरौं भिडियो)


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । बारा र मकवानपुर जोड्न करिब १ सय वर्षअघि निर्माण गरिएको सुरुङमार्ग संरक्षणको अभावमा अलपत्र बनेको छ ।

बाराको चुरियामाई मन्दिरबाट मकवानपुरको जोड्न बनाइएको सुरुङमार्ग ४५ वर्षसम्म संचालनमा आए पनि अहिले भने अस्तित्व बचाउको स्थितिमा पुगेको हो ।  

देशका विभिन्न स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहँदा १ सय वर्ष अघि निर्माण भएको सुरुङमार्ग संरक्षणको पर्खाइमा छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बारा र मकवानपुरको सीमानामा पर्ने चुरे पहाड छेँडेर बनाइएको सुरुङ्मार्ग अहिले अस्तित्व बचाउको संघारमा पुगेको हो । 

तत्कालीन समयमा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको र  त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म पुग्न चुरे पहाड बाधक बनेपछि  चुरियामाई मन्दिर परिसरबाटै सिभिल इन्जिनियर डिल्लीजंग थापाको अगुवाइमा सुरुङमार्ग बनेको इतिहास छ ।

चुरियामाइ मन्दिरका पुजारी राजु नगरकोटी त्रिभुवन राजमार्ग बनेपछि २०२१ सालसम्म चलेर सुरुङमार्ग बन्द भएको बताउँछन् ।

प्रदेश र स्थानीय सरकारले गुरुयोजना बनाएर यसको पुननिर्माण गर्ने जानकारी पाएको उनको भनाइ छ ।

५ सय मिटर लम्बाइको यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो रहेको छ ।

जसलाई स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

 जीर्ण बन्दै गएको सुरुङमार्गलाई भूकम्पले थप क्षतिग्रस्त बनाएको छ । सुरुङका डिजाइनर इन्जिनियर डिल्लीजंग थापाका पनाती/पनातीना पटकपटक अवलोकनमा आएको र यसलाई व्यवस्थित गरेर अवलोकनका लागि खुला गर्ने योजना सुनाएको स्थानीय दिलीप नगरकोटी बताउँछन् ।

जितपुर सिमरा उपमहानगरपालिकाले गत बर्षको बजेटले मन्दिरमा पुननिर्माण गरेको र अब सुरुङको पुनःनिर्माणमा लाग्ने वडाध्यक्ष मणिक लामाको भनाइ छ ।

भूकम्पपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर अवलोकन गर्न निषेध गरेको छ ।

यता हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै इन्जिनियर थापाको अर्धकदको शालिक बनाउने जानकारी गत वर्ष नै गराए पनि अहिलेसम्म कुनै सुरसार देखिएको छैन ।