
काठमाडौं, साउन ३ । नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को ११ महिनासम्ममा कुल वस्तु व्यापार घाटा २४ प्रतिशतले बढेर १० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको थियो ।
कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भइ ७४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.३ प्रतिशतले बढेको थियो ।
वस्तुगत आधारमा अलैंची, पोलिस्टर यार्न, जुटको बोरा, धागो, जस्तापातालगायतका वस्तुको निर्यात बढेको छ भने जीआइ पाइप, जुटको रस्सी, जुस, उनीगलैंचा, पस्मिनालगायतका वस्तुहरुको निर्यात घटेको छ ।
यस अवधिमा कुल वस्तु आयात २३ प्रतिशतले बढेर ११०७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० प्रतिशतले बढेको थियो ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अरु मेसिनरी तथा पार्टपुर्जा, एमएस. बिलेट, सिमेन्टलगायतका वस्तुको आयात बढेको छ भने कृषिऔजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैंची, जिंक इनगोटलगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा सुक्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएतापनि अरु भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ ।
त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुक्खा बन्दरगाहा भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अरु नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्