४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तत्कालिन नायव सुब्बाद्वारा आत्महत्या


26
Shares

काठमाडौं, साउन १२ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा ब्यक्तिको नाममा सार्ने प्रकरणमा मुछिएका मालपोत कार्यालयका एक जना पूर्वनायब सुब्बाले हामफालेर आत्महत्या गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आज दिउँसो बालाजुको माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । ५७ वर्षीय श्रेष्ठ मालपोत कार्यालयबाट २०६० सालमा अवकाश भएका थिए । 

किनमेलका लागि भन्दै उक्त सपिङ सेन्टरमा गएका उनले आठौं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । उनीमाथि मालपोत कार्यालय डिल्लीबजारको नायब सुब्बा रहँदा कागजपत्र मिलाएर ललिता निवास लगायतका सरकारी जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको आरोप लागेको छ ।

उनको आत्महत्याको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पर्वतको फलेवास स्थायी घर भएका श्रेष्ठ नेपाली कांग्रेस पर्वतका सचिव समेत हुन् ।