४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


दुई सातादेखि आतंक मच्चाइरहेको हात्तीमा रेडियो कलर जडान


0
Shares

सर्लाही, साउन १२ । सर्लाहीको ईश्वरपुरमा दुई सातादेखि आतंक मच्चाइरहेको जंगली हात्तीमा रेडियो कलर जडान गरिएको छ ।

हात्तीको आनीबानी र बासस्थान बुझ्न आज बिहान रेडियो कलर जडान गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएको हात्ती विशेषज्ञको टोलीले आज बिहान ५ बजेतिर एउटा भाले हात्तीलाई ईश्वरपुर नगरपालिका–१३, श्रीनगर, लाहुरे टोलमा ‘डाट’ गरेर बेहोस बनाई रेडियो कलर जडान गरेको हो । बिहानपख बस्ती नजिक आएको हात्तीलाई प्राविधिक अध्ययन गरी बेहोस बनाएर गोली हानी अर्थात् ‘डाट’ गरेर नियन्त्रण लिइएको थियो ।

घाँटीमा रेडियो कलर जडान गरुञ्जेल बेहोस भएको हात्ती पुनः ब्यूँतिएर जंगलतर्फ नै लागेको छ । डिभिजन वन प्रमुख देवले अर्को पोथी हात्तीमा पनि रेडियो कलर जडान गर्न खोजी गरिरहेको बताए ।

दुई साताअघि सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा देखा परेका दुईवटा हात्तीले परियोजना छेउछाउका बस्तीमा निस्किएर आतंक मच्चाउँदै आएका छन् । हात्तीले हालसम्म करिव ३० वटा घर भत्काइसकेको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताए ।

प्राविधिकले रेडियो कलर जडान गरेर छाडिएको हात्ती दुई÷तीन दिन आक्रामक हुने भन्दै स्थानीय बासिन्दालाई सचेत हुन आग्रह गरिएको नगरप्रमुख देवकोटाले बताए ।

हात्ती आतंकका कारण परियोजना छेउछाउ घर भएका सर्वसाधारण रातभर सुत्न पाएका छैनन् । गत हिउँदमा तीन महिनाभन्दा बढी हात्तीको आतंक खेपेका स्थानीय बासिन्दा पुनः हात्ती आतंक खेप्नु परेकाले त्रसित भएका छन् ।

हात्ती आतंक नियन्त्रणका लागि ईश्वरपुर नगरपालिका र डिभिजन वन कार्यालय सर्लाहीले निरन्तर रुपमा विभिन्न वन्यजन्तु राष्ट्रिय निकुञ्ज र मन्त्रालयहरुको ध्यानाकर्षण गराउँदै आएको थियो ।