
-दुर्गा उपाध्याय/ईमेज
कञ्चनपुर । कञ्चनपुरको बनहरा शिविरका सुकुम्बासी जोखिमपूर्ण अवस्थामा बस्दै आएका छन् ।
बनहरा नदीको कटानका कारण सुकुम्बासी वस्ती जोखिममा परेको हो । नदी कटान नियन्त्रण गर्न पहल नभएपछि आफूहरुको ज्यान जोखिममा परेको उनीहरुको गुनासो छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बनहरा नदीस्थित राजमार्ग छेउको सुकुम्बासी बस्तीका १५ परिवार २०५२ सालदेखि अस्थायी रुपमा बसोबास गर्दैै आएका छन्् ।
बेलैमा व्यवस्थापन नहुँदा उनीहरु कष्टकर जीवन जीउन बाध्य छन् । हिउँदमा शिरेटोले कठ्याङ्ग्रिदै दिन काटेका उनीहरुलाई कहिले हावाहुरी त कहिले बाढीको त्रास छ ।
दिनभरी ज्याला मजदुरी गरेर साँझ बिहानको छान टार्न मुस्किल पर्ने पीडित परिवारको अवस्था निकै दयनीय छ ।
कतिपयका त जेठमा आएको हावाहुरीले भत्किएका घरका छाना र भित्ता समेत बन्न सकेका छैनन् ।
अर्कोतिर झण्डै एक सय मिटर पर रहेको नदी वर्षेनी कटान गर्दै छाप्रो नजिक पुगिसकेको छ ।
कटानको रोकथामका लागि कतैबाट पहल नहुँदा उनीहरु पुलमुनी बस्न थालेका छन् ।
चुहिने छाप्रो पनि कटानको जोखिममा परेपछि ज्यान जोगाउन बालबच्चा काखमा च्यापेर पुलमुनि बस्नु परेको स्थानीय दलबहादुर बोहरा बताउँछन् ।
देशमा तिन तहका सरकार रहे पनि चुनावका बेला गरेका बाचा सबैले भुलेको स्थानीय कलामती दमाइको गुनासो छ ।
सशस्त्र द्वन्द्व सकिएपछि बनहरा किनारमा करिब १५ सय परिवार छाप्रो बनाएर बसोबास गरेपनि अहिले मुक्त हलिया, बाढीपीडित र द्वन्द्वपीडित गरी १५ परिवारको बसोबास छ ।
एकातर्फ बनहरी नदी र अर्कातर्फ सामुदायिक वनबाट आउने नालाको कटानबाट उच्च जोखिममा रहेकाले बस्ती जोगाउन नगरपालिकाले आफै पहल गर्ने शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरको भनाइ छ ।
बर्खा लागेसँगै स्थानीय तह र गैरसरकारी संस्थाहरु विपद् व्यवस्थापनको तयारीमा जुटेपनि यस बस्तीमा भने कसैको ध्यान जान सकेको छैन ।
जग्गाधनी प्रमाणपत्रका आधारमा नागरिकलाई विभेद नगरी जोखिममा रहेका परिवारको धनजनको सुरक्षा गर्नु राज्यको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्