
धनकुटा । लगातारको वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धनकुटा खण्डमा जताततै पहिरो खसेको छ ।
सो खण्डअन्तर्गत फेदीदेखि धनकुटा बसपार्कसम्मको करिब २५ किलोमिटर क्षेत्रभित्र ठूला–साना गरी तीन दर्जनभन्दा बढी पहिरो खसेको छ ।
गर्जवा, लावरबोटे, गुठीटारलगायतका स्थानमा पहिरोको असर बढी देखिएको छ ।
पुरै पहिरो हटाउन नसकिएकाले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
सडक क्षेत्रका कतिपय स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम नरोकिएकाले सडकमा जोखिमसमेत कम हुन नसकेको सवारीचालकहरु बताउँछन् ।
कतिपय स्थानमा भीर नै खसेको छ भने कतिपय स्थानमा नयाँ खोलिएका सडकका कारण पहिरो गएको छ । पहिरो र भूक्षयकै कारण ग्रामीण क्षेत्रका अधिकांश सडकसमेत बन्द छन् ।
कोशी राजमार्गबाट धनकुटाका विभिन्न स्थान जोड्ने तथा गाउँगाउँबाट गाउँपालिका जोड्ने अधिकांश सडक बन्द रहेका छन् ।
उता, पहिरोले पाँचथरको फालेलुङका किसानले लगाएको अलैंची बगान बगाएको छ ।
केही दिन यता परेको अविरल वर्षाका कारण झरेको पहिरोले अलैंची बगान बगाएपछि किसान चिन्तित भएका छन् ।
एक सय रोपनीभन्दा बढी अलैँची बगान पहिरोले बगाएको फालेलुङ–१ का घनश्याम सुवेदीले बताए ।
यस्तै फालेलुङ–७ का केही घरसमेत पहिरोको जोखिममा परेका छन् ।
जतासुकै खनिएका नयाँ सडकका कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवालीसमेत बगाएको छ ।
मुख्य सडक फिदिम फालोटको सडकको ठाउँठाउँमा झरेको पहिरोले अहिले सवारी साधन ठप्प छन् ।
भित्री सडकसमेत अवरुद्ध भएका छन् । गाउँपालिकाका अध्यक्ष सञ्चबहादुर केरुङले कार्यपालिकाको बैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने र किसानलाई सहयोग गर्नेबारे छलफल गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्