४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सप्तरीमा फेरि बाढी, तिलाठी कोइलाडीका ३५ प्रतिशत घर डुबानमा


0
Shares

राजविराज, साउन ९ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुनः डुबानमा परेको छ ।

गाउँपालिकाका करिब ३५ प्रतिशत घर डुबानमा परेका छन् ।

मंगलबारदेखिको अविरल वर्षाका कारण खाँडो, महुली, जिता र कोसी नदीको बाढी गाउँमा पसेको छ ।

बाढीका कारण दुई हजार ५०० घरपरिवार डुबानमा परेको र २५ परिवार विस्थापित भएका छन् ।

खाँडोखोलाको बाँध वडा नम्बर–१ को तिलाठीमै तीन ठाउँमा भत्कँदा गाउँ जलमग्न भएको छ ।

तिलाठीका सबै घरमा पानी पसेको छ । कोइलाडी र बरसाइन गाउँमा पनि ४० प्रतिशत घर डुबेका छन् ।

गएको असार २८ गतेको बाढीले खाँडोखोलाले दुई ठाउँमा कटान गरेको बाँध नेपाली सेनाले बनाए पनि पुनः कटानमा परेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, बेल्ही भन्सार कार्यालयको पुरानो भवन डुबेकाले नयाँ भवनमा सामान सारिएको छ ।

स्वास्थ्य केन्द्रमा पानी जमेकाले उपचार सेवा प्रभावित भएको छ ।

खाँडोखोलाको बाढीले तिलाठीस्थित राजविराज–कुनौली सडकखन्डमा सवारी–साधन ठप्प भएको छ ।

अविरल वर्षापछि गएको असार २८ गते आएको बाढीमा पनि उक्त गाउँपालिका डुबानमा परेको थियो ।