
लमजुङ । लमजुङको दोर्दीखोलामा हिजो दिउँसो आएको बाढीले बगाएर मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ५० बर्षिय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेताल नपा–६ का ५० बर्षिय रमेश बुढा, बाराको जितपुर उपमहानगरपालिकाका ३५ बर्षिय शिवलाल चौधरी र ३५ बर्षिय साहित अन्सारी रहेका छन् ।
उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । दोर्दी गाउँपालिकाको वडा नं. ४ शेरापुल नजिकै दुईजना र वडा नं. ६ को किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो ।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार अझै ६ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, कञ्चनपुरका देवबहादुर कोली, डडेल्धुराका कर्ण बुढा, भोजपुरका दिवस कटुवाल, बाराका ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी–६ का विनोद तामाङ छन् ।
बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् ।
मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन् ।
उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवद्र्धक टिबर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बाढीले धनजनको ठुलो क्षति पुर्याएको जानकारी दिए । हिजो दिउँसो ३ बजेतिर खोलामा बाढी आएको थियो ।
बाढीले वडा नं. ६ ढोडेनीमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामाग्री बगाएको छ ।
बाढीले खोला वरपर रहेका स्थानीय विस्थापित भएका छन् । जलविद्युत आयोजना सुरक्षार्थ बसेको नेपाली सेनाको क्याम्प पनि बाढीले विस्थापित भएको छ ।
प्रतिक्रिया दिनुहोस्