
जनकपुरधाम, साउन ८ । मिथिलाञ्चलमा गएको सोमबारदेखि सुरु भएको मधुश्रावणी पर्व धुमधामका साथ मनाइँदैछ ।
साउनको कृष्णपक्षको पञ्चमी तिथिबाट सुरु भइ शुक्लपक्षको तृतीयाका दिन सम्पन्न हुने पर्व १३ दिनसम्म विधिवतरुपमा मनाउने गरिन्छ ।
नवविवाहिता महिलाहरु माइतीमा गएर मनाउने पर्वमा बेहुली माता गौरी, महादेव र नागदेवता (विषहरा)को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ ।
मिथिलामा गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीकारूपमा पूजा गर्ने परम्पराअनुसार मधुश्रावणी पर्वका लागि नवविवाहिता व्रतालु श्रावण कृष्ण चतुर्थीको दिन स्नान गरी चोखो भएर पूजापाठ गर्ने गर्छन् ।
यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने चलन छ ।
पूजाकाक्रममा साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ । बेसारलाई गौरीको प्रतीक प्रतिमास्वरूप बनाएर पानको पातमा राखिन्छ । जसलाई गौर भन्ने चलन छ ।
यस अवसरमा नवविवाहिताको ससुरालीबाटै सारी, शृंगारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्नसमेत पठाउने चलन छ ।
सोही सामग्रीले अन्तिम दिनको पूजापाठ गरी पर्व सम्पन्न गर्ने परम्परा रहेको छ ।
यस पर्वमा मिथिलामा प्रचलित गोसाउनी गीत, गौरी गीत, शिवनचारी, महेशवाणी, कोहबर गीत आदि गाइने परम्परासमेत रहेको छ ।
यो पर्व गर्नाले वैवाहिक जीवन सुखमय, पति दीर्घायु हुने र परिवारमा सुख–शान्ति आउने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्