
तारा भुसाल (इमेज)
गुल्मी, साउन ८ । गुल्मीको सत्यवती गाउँपालिकाका दुईओटा वडामा गएको पहिरो प्रभावित क्षेत्रका सडकहरु अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या भएको छ ।
सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक र वडा नम्बर–४, लिम्घामा मंगलबार बिहान पहिरो गएको थियो ।
उद्धारमा जाने सुरक्षाकर्मी साढे दुई घन्टा पैदल हिँडेर घटनास्थल पुगे पनि राहत बोकेर हिँडेका गाडीहरु भने बाटोमै रोकिएका छन् ।
विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको छ ।
घटनास्थलसम्म पुग्ने सडकका कयौं ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।
ठूलोलुम्पेकको सिंगदी गाउँ नै पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका करिब ६०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लुम्पेककै अरु बस्ती पनि पहिरोको खतरामा रहेकाले करिब ४०० व्यक्तिलाई स्थानीय धर्मपुर माध्यमिक विद्यालय तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो ।
लिम्घामा पनि २०० घरपरिवारलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा राखिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि हेलिकोप्टरमार्फत् राहत सामग्री लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
वर्षा नरोकिएकाले हेलिकोप्टरसमेत उड्न सकेको छैन ।
वर्षा नरोकिएका कारण अझै केही बेपत्ताको खोजी अगाडि बढाउन नसकिएको उनले बताए ।
गुल्मीका दुई वडामा गएको पहिरोमा पुरिएर हालसम्म ११ जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् ।
पहिरोका कारण पूरै डाँडा समथर बनेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारै हेलिकोप्टरमार्फत् राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका थिए ।
उनले पीडित परिवारलाई राहत सामग्री वितरण गर्दै सरकारले उचित सहयोग गर्ने बताए ।
प्रभावित क्षेत्रमा ३०० बढी पशु–चौपायाहरु मरेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्