४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


0
Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।

बाढी, पहिरो र डुबानबारे छलफल गर्दा कसले पहिला बोल्ने भन्ने विषयमा विवाद भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक १० दिनपछि आज बस्न लागेको हो ।

बैठकको सम्भावित कार्यसूची भने तयार भएको छैन । बैठकलाई सहज रुपमा अघि बढाउन सभामुख कृष्णबहादुर महराले पहल जारी राखेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सदनका नियमित कामकारबाही स्थगित गर्ने प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान राखेका छन् ।

तर सत्तापक्षले भने विपक्षीको प्रस्ताव अस्वीकार गर्दै आएको छ ।

दलहरुबीच सहमति हुन नसकेपछि सभामुख महराले विपक्षी दलले दर्ता गरेको स्थगन प्रस्ताव फिर्ता लिने र सत्ता पक्षको समेत सहभागितामा साझा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर छलफल गर्ने प्रस्ताव अघि सारेका छन् ।

सभामुखको प्रस्तावमा सत्ता पक्ष सहमत भए पनि विपक्षी दलले भने सहमति जनाइ सकेको छैन ।

आफ्नो प्रस्तावमा सहमति जुटाउन सभामुख महराले बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको संसद् सचिवालयले जनाएको छ ।

गत असार ५ गते सर्लाहीमा प्रहरी इन्काउण्टरमा मारिएका नेत्रविक्रम चन्द समूहका जिल्ला संयोजक कुमार पौडेलको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद् अवरुद्ध गरिरहेका विपक्षी कांग्रेस र राजपाले असार ३० गतेको बैठकमा बाढी, पहिरो र डुबानबारे छलफल गर्न स्थगन प्रस्ताव दर्ता गराएका थिए ।

तर बैठकको सुरुमै गृहमन्त्री रामबहादुर थापाले बोल्ने कि सिधै प्रस्तावमाथि छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा बैठक नै लामो समयसम्म स्थगित भएको थियो ।