हेटौंडा, साउन ८ । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ ।
असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौंडा आवतजावत बन्द भएको छ ।
त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।
पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौंडा–फाखेल–काठमाडौं सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । ‘उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ,’ उनले भने ।
पानी केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ । (रासस)









प्रतिक्रिया दिनुहोस्