
काठमाडौं, साउन ७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीमा परी गएको असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ ।
यस्तै, गएको असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् ।
प्राधिकरणकाअनुसार अनुदान लाभग्राहीमा परेपनि ५७ हजार ३०९ जनाले अनुदान सम्झौता गरेका छैनन् ।
कुल लाभग्राही ८ लाख २६ हजार ९३३ भएकामा ७ लाख ६९ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् ।
यस्तै, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या पाँच हजार ५४० रहेको जनाइएको छ ।
पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले यसअघि प्राधिकरणले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्नेक्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्