काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम राख्न गृहमन्त्रालय सक्षम र सवल रहेको दाबी गरेका छन् ।
आर्थिक बर्ष २०७५/७६ को मन्त्रालयको वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका सम्बन्धमा गृहमन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले गृहमन्त्रालय समग्र रुपमा देशमा अमन चयन कायम गर्न सफल रहेको दाबी गरे ।
उनले विप्लव समूहको अराजक गतिविधिले देशको शान्ति सुरक्षामा चुनौति थपिएको भन्दै सो समूहका ५ सय भन्दा बढी कार्यकर्ता पक्राउ परिसकेको जानकारी दिए ।
गृहमन्त्री थापाले विप्लव समूहसंग वार्ताको पहल भइरहेको र उनीहरुलाई शान्ति प्रक्रियामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।
गृहमन्त्री थापाले निर्मला पन्त हत्याकाण्डलाई राजनीतिकरण गर्न खोजिएको भन्दै घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।
अन्तर्राष्ट्रिय जगतमा पनि यस्ता घटनाहरु भइरहने भन्दै उनले दोषीलाई कारवाही गरेरै छोड्ने बताए ।
नेपालमा सुन तस्करी नियन्त्रणमा आइसकेको दाबी गर्दै गृहमन्त्री थापाले ३३ किलो सुन प्रकरणमा पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
कार्यक्रममा गृहसचिव पे्रम राईले विशिष्ठ व्यक्तिहरुको घरमा राखिएका सुरक्षाकर्मीमध्ये ५ सय फिर्ता भैसकेको र यो क्रम जारी रहने बताए ।
कार्यक्रममा गृहमन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अघि सारिएका ८२ बुंदे कार्ययोजना मध्ये ७८ वटा सम्पन्न भइसकेको र ४ वटा बाँकी रहेको जानकारी गराइयो ।









प्रतिक्रिया दिनुहोस्