
-सन्तोष पुर्कुटी/ईमेज
ताप्लेजुङ । बर्षायाम सुरु भएदेखि नै ताप्लेजुङको ओलाङ्चुङ्गोला बस्तीका बासिन्दा त्रसित बनेका छन् ।
भिरालो र कमजोर भूधरातलका कारण जुनसुकै बेला पहिरो खस्ने सम्भावना भएका कारण बस्ती जोखिममा परेको हो ।
ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्वको ओलाङचुङगोला बस्ती नदी कटानका कारण निरन्तर झरिरहने पहिरोको जोखिममा छ ।
३ हजार १ सय मिटरको उचाईमा अवस्थित यो बस्ती चीनसँग सीमा जोडिएको छ ।
झण्डै ४ सय वर्ष पुरानो ऐतिहासिक छिकिछ्योलिङ गुम्बा रहेको बस्तिमा तमोर नदिको कटानका कारण जोखिम बढ्दै गएको हो ।
नदीको कटान नरोकिएको र पहिरो बस्तीतर्फै सोझिन थालेकाले बस्ती नै सखाप पार्ने हो कि भन्ने चिन्ताले स्थानीयलाई तर्साइरहन्छ ।
फक्ताङलुङ गाउँपालिकाको ७ नम्बर वडामा पर्ने ओलाङचुङगोला सदरमुकाम फुङिलङदेखि २६ कोष उत्तरमा छ ।
जहाँ वालुङ भनेर चिनिने भोटे जातीका ४७ घरपरिवारको बसोबास छ ।
ऐतिहासिक रुपमा बनाइएका काठका लहरै घर रहेको ओलाङचुङगोलामा ६५ घर एकै ठाउँमा रहेका छन् ।
हिउँदमा कठ्यांग्रिँदो चिसो सहनुपर्ने उनीहरुलाई वर्षायमामा पहिरो खस्ला कि भन्ने त्रासले झस्काउछ ।
प्रतिवर्ष पहिरोको जोखिम बढ्दै गएको बस्तीमा रोकथामको प्रयास कतैबाट भएको छैन ।
रोकथामका लागि वडाको बजेट अपर्याप्त रहेको र प्रदेश तथा संघिय सरकारलाई अनुरोध गरिएको वडाध्यक्ष छेतेन शेर्पा (भोटे) बताउँछन् ।
चीनको रिउ बजारसँग सडक सञ्जालले जोडिएको ओलाङचुङ्गोला सुगम बन्दै गए पनि पहिरोको त्रासले भने स्थानीयलाई सधैँ लखेटिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्