
रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा १ अर्ब ९ करोड ६१ लाख बढी राजस्व उठाएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा राखेको लक्ष्यभन्दा ११ दशमलव ५३ प्रतिशत बढी राजस्व असुली गरेको कार्यालयले जनाएको छ ।
९ अर्ब ५० करोड ६२ लाख वार्षिक लक्ष्य राखेको कार्यालयले १० अर्ब ६० करोड २४ लाख रुपैयाँ राजस्व असुल गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।
यो लक्ष्यभन्दा १२ प्रतिशत बढी हो । कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार,अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ ।
चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै जलविद्युत् आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, एनसेललगायतका सामग्री आएसँगै राजस्व असुलीमा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्बल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेको छ ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्