
महोत्तरी । महोत्तरीको बर्दिवासस्थित भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।
गत हप्ता आएको बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको भए पनि आज बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग ठप्प भएको हो ।
अहिले राजमार्गका दुवैतर्फ ठूलो संख्यामा सवारी लाम लागेका छन् । पानीको वहाव घटेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभिरमा पहिरो झरेपछि अबरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा जाने छोटो बाटो खुलाउन अझै समय लाग्ने भएको छ ।
विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समय लाग्ने देखिएको सडक विभागले जनाएको छ ।
यस्तै, हेटौंडा–काठमाडौ जोड्ने कान्ति लोकपथमा पनि गाडी चल्न सकेको छैनन् ।
प्रतिक्रिया दिनुहोस्