
काठमाडौं, साउन ३ । सेयरबजारका लगानीकर्ताहरुले पुँजीगत लाभकरको गणना ‘सीडीएससी’बाटै गर्नुपर्ने माग गरेका छन् ।
नेपाल इन्भेस्टर्स फोरमले पुँजीगत लाभरको गणना सीडीएससी आफैंले गर्नुपर्ने माग राखेको हो ।
फोरमले तत्काल भारित औसत दरमा पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाटै गराउने व्यवस्था गर्न अन्यथा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विज्ञप्ति जारी गर्दै फोरमले औसत भारित दरबाट लगानीकर्ता स्वयंले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पुँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलेको जनाएको छ ।
यसले लगानीकर्ता पुनः ब्रोकर अफिसमै धाउनुपर्ने झन्झट बढेको र यो अव्यावहारिकसमेत भएको भन्दै फोरमले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
गएको आर्थिक वर्षमै पुँजीगत लाभकरको गणना विधिबारे दुविधा भएकाले सरकार, बोर्ड, नेप्से, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, फोरमका प्रतिनिधि र ब्रोकर एसोसिएसनका प्रतिनिधिको उपस्थितिमा भारित औसत दरको आधारमा पुँजीगत लाभकर लगाउने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।
यसैबमोजिम चालू आवको आर्थिक विधेयक २०७६ मा आयकर ऐन २०५८ को दफ ९५ ‘क’ अनुसार संशोधनमार्फत् उपदफा २ को खन्ड २ ‘क’ बमोजिम लाभगणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, सोही निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्ने विषय विधेयकमा राखिएको र सोअनुसार स्वीकृतसमेत भइसकेको फोरमले स्मरण गराएको छ ।
फोरमले पुँजीबजार अनलाइन प्रणालीमा प्रवेश गरिसकेको र लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण र लागतसमेत सीडीएससी र ब्रोकरको कम्प्युटर प्रणालीमा रहेको हुँदा सोहीअनुसार भारित औसत दरमा पुँजीगत लाभकर प्रविष्टि गर्नेगरी गएको वर्ष नै सहमति भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्