
दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज)
काठमाडौं, साउन २ । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीले पुनर्जीवन पाउने भएको छ ।
१४ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको ऐतिहासिक पोखरी अतिक्रमण भएर दुई रोपनीमा खुम्चिएपछि त्यसलाई पुनर्जीवन दिन स्थानीयले लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।
स्थानीयवासीको आवाजलाई सर्वोच्च अदालतलेसमेत जायज ठहर्याएपछि अतिक्रमण गरिएको भूभागलाई पोखरीमै परिणत गर्ने बाटो खुलेको हो ।
केही वर्षअघिसम्म १४ रोपनीभन्दा बढीमा फैलिएको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पछिल्लो समय दुई रोपनीमा खुम्चिएको छ ।
आसपासको जग्गा अतिक्रमण हुनेक्रम बढ्दै गएपछि पोखरी खुम्चिएको हो ।
ऐतिहासिक पोखरीलाई कायमै राख्न र अतिक्रमित संरचना हटाउन माग गर्दै स्थानीयवासीले रिट दायर गरेपछि सर्वोच्च अदालतले पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन आदेश दिएको हो ।
न्यायाधीशहरु दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले पोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन आदेश दिएपछि यसले पुनर्जीवन पाउने भएको हो ।
ऐतिहासिक पोखरी अतिक्रमण गर्नेहरुमा धेरै सरकारी कार्यालय छन् । सबैभन्दा बढी नमुना मच्छिन्द्र माविले पोखरी अतिक्रमण गरेर संरचना निर्माण गरेको छ ।
पोखरीनजिकै रहेको अशोक स्तुपा वरिपरिको जग्गा चौतर्फी अतिक्रमणमा परेको पोखरी हाल दुई रोपनीमा खुम्चिएको र त्यहाँ पनि घाँसमात्र रहेको छ ।
पाटनको भूमिगत जलभन्डारमा पानी पुनः भरण गर्ने परम्परागत पोखरीमध्ये सप्तपाताललाई प्रमुख मानिन्छ । यो पोखरीले सहरका लागि ‘रिजर्भ ट्यांक’को काम गर्दै आएको थियो । यहाँ पानी भरिएपछि पाटनका ढुंगेधारा र इनार रसाउने विश्वास गरिन्छ ।
पोखरीमा पानी भर्न लेले, टीकाभैरवमा मुहान बनाइ राजकुलो खनेर ल्याइने गरिन्थ्यो । सप्तपाताल अथवा पृथ्वीको तल रहने ७ लोकमध्ये सबैभन्दा तल्लो लोक मानिन्छ । जसलाई नागलोक पनि भनिन्छ ।
रातो मच्छिन्द्रनाथ र मीननाथ जात्रा सकिएको खबर स्वर्गका राजा इन्द्र र पाताललोकका नागराजलाई पुर्याउन यही पोखरीको प्रयोग गर्ने गरिएको किंवदन्ती छ ।
प्रतिक्रिया दिनुहोस्