
कैलाली । कोरोना कहर शुरु भएपछि भारतसँगका नाका बन्द भएको ६ महिना बितेको छ । नाकाबाट मालबाहक गाडी र नेपालीलाई मात्रै आउन दिइएको छ ।
सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको कैलालीको त्रिनगर नाकाबाट मालबाहक सामान तथा नेपाली नागरिक मात्रै आउने गरेका छन् । नाका बन्द भएपछि स्थानीय बजारमा भने ब्यवसाय बढेको हो ।
कोरोना भाइरसका कारण अधिकाशं सेवा प्रभावित भएपनि कैलाली बजारमा चहलपहल घटेको छैन ।
अहिले सुदूरपश्चिमको अस्थाई राजधानी धनगढीमा चहलपहल बढेको छ । चाडबाड लागेसँगै विगतका वर्षमा नाकातिर निकै भीड हुनेगरेको थियो ।
एक किलो चिनी तथा साबुनका लागिसमेत यस क्षेत्रका नागरिकहरु सिमावर्ती बजार पलिया तथा बनगवाँमै पुग्ने गरेका थिए । यस वर्ष कोरोना महामारीकै बिचपनि ब्यवसायी खुशी भएका छन् ।
सामान्य सामानका लागि पनि सिमावर्ती बजार जाने नेपालीहरु अहिले बाध्यताले स्वदेशकै पसलबाट सामान खरिद गरिरहेका हुन् ।
यताको व्यापार बढ्दा सरकारलाई राजस्व बढ्ने र उपभोक्ताले सही सामान पाउने धनगढीस्थित समैजी डिर्पार्टमेन्टल स्टोरका सञ्चालक भवानी सिहं भण्डारीको भनाइ छ ।
दैनिक खाद्यान्न, लत्ता कपडा, तरकारीलगायतका सामानका लागि यतिबेला सिमावर्ती बजारमा नेपालीहरुको भीड हुने गर्दथ्यो ।
भारतीय बजारमै पुग्ने गरेका उनीहरुलाई कोरोना महामारीले स्थानीय बजारबाटै किनमेल गर्ने वातावरण बनाएको छ ।
यसले स्थानीय क्षेत्रको व्यवसायमा टेवा पुगेको किराना व्यवसायी संघ कैलालीका कोषाध्यक्ष रामचन्द्र भट्टले बताउनु भयो ।
नेपाली ग्राहकहरुलाई मात्रै लक्षित गरेर सञ्चालन भएका सिमावर्ती बजार बन्द हुनुपर्ने पक्षमा व्यवसायी छन् ।
भारतमा बिक्री नभएको गुणस्तरहीन सामानसमेत भारतीय व्यापारीले सिमावर्ती बजारमार्फत बिक्री गर्ने गरेको गुनासो नेपाली व्यवसायीको छ ।
घरका लागि सामान ल्याउँदा भन्सार छुटसंगै चेकजाँचसमेत नहुने हुँदा सरकारको राजस्व घाटासंगै उपभोक्ताको स्वास्थ्यमासमेत असर परिरहेको ब्यवसायी बताउँछन् ।
सिमावर्ती बजारले एकातिर ब्यवसायीलाई घाटा छ भने अर्कोतिर सरकारलाई राजस्व नआउने र उपभोक्ताले मापदण्ड नपुगेको खाद्य वस्तुसमेत उपभोग गर्नुपरेको कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुष्प कुँवर बताउनुहुन्छ ।
सामान्य सामानका लागि पनि नेपाली नागरिकले भारतको भर गर्नु भन्दा नेपाली बजारबाटै सामान खरिद गर्न अहिले कोरोनाले सिकाएको छ ।
प्रतिक्रिया दिनुहोस्