२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरियो, सर्लाही र रौतहटमा त्रास


0
Shares

सर्लाही । लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएको छ ।

आज बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ ।  गएराति ठूलो वर्षा भएका कारण पानीको सतह बढेको हो ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले १ हजार ५ सय २७ मिटर मात्रै पानी संकलन गर्ने गरिएको छ ।

अहिले पनि प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिँदै गएको आयोजनाले जनाएको छ । जलाशय भरिएपछि नेपाल विद्युत् प्राधिकरणले ड्याम्प खोल्ने तयारी गरेको छ । 

कुलेखानीको ड्याम्प खोल्दा तल्लो तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच सर्लाही र रौतहटमा स्थानीय प्रशासनले पनि सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराएका छन् ।

कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह बढेका कारण बाँध खोल्ने तयारी भइरहेकाले डुवानको समस्या हुन सक्ने भन्दै सर्लाहीको पश्चिमी पुरै भेग र रौतहटको पूर्वी भेगमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

कुलेखानीको ड्याम्प खोलिए त्यहाँको पानी सर्लाही र रौतहट पुग्न झन्डै ४ घण्टा लाग्ने बताइएको छ ।