
काठमाडौं, असार २८ । चालू आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा पुँजीगत खर्चको ‘ग्राफ’ उकालो लागिरहेको छ ।
असारे बर्खाको समयमा पुँजीगत खर्च बढेको देखाउनकै लागि दैनिक पाँच अर्ब रुपैयाँ खर्च भईरहेको छ । जुन खर्च बालुवामा पानी हालेसरह हुने गरेको जानकार बताउँछन् ।
चालू अर्थिक वर्षको अन्तिम समयमा दैनिक पाँच अर्ब बढी खर्च भइरहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको अन्तिम समयमामात्रै पुँजीगत खर्चमा वृद्धि भएको कार्यालयको तथ्यांकले देखाउँछ ।
चालू वर्षका लागि तीन खर्ब १३ अर्बको पुँजीगत बजेट छुट्याइएको थियो । तर, असार २७ गतेसम्ममा एक खर्ब ९९ अर्ब अर्थात् ६१ प्रतिशतमात्रै खर्च भएको कार्यालयले जनाएको छ ।
कुनैपनि परियोजना तथा आयोजनाको आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययनबिना नै राजनीतिक पहुँचको आधारमा आयोजनामा रकम विनियोजन गर्दा परिणाम आउन नसकेको अर्थविद्हरु बताउँछन् ।
अन्तिम अर्थात् परिणाम नआउने समयमा दैनिक पाँच अर्बभन्दा बढी रकम खर्च गर्दा त्यसले अर्थतन्त्रमा वित्तीय संकुचन ल्याउने पूर्वमूख्यसचिव डा. विमल कोइराला बताउँछन् ।
कुनैपनि आयोजनाको कार्यतालिका नबनाइएको तर काम चोख्याउनमात्रै खोज्दा अन्तिम समयमा पुँजीगत खर्चको आकार बढ्ने गरेको उनको भनाइ छ ।
सरकारले विनियोजन प्रणालीमा सुधार गर्नुपर्ने तथा विनियोजन कार्यक्रमको बलियो संयन्त्र बनाउन सम्बन्धित निकाय जागरुक हुनुपर्ने उनको सुझाव छ ।
पुँजीगत खर्च ६१ प्रतिशतमात्रै हुँदा साधारण खर्च ७७.०६ प्रतिशत एवं वित्तीय व्यवस्थातर्फ ७८.१० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्