१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


त्रिशूली बजार जाने पक्की पुल जीर्ण


0
Shares

नुवाकोट । नुवाकोटको त्रिशूली बजार जाने पक्की पुल जीर्ण भएको छ । करीब पाँच दशकअघि निर्माण भएको त्रिशूली पुल जीर्ण बनेको हो ।

नयाँ पुल निर्माणको लागि विस्तृत परियोजनाको प्रतिवेदन बने पनि कार्यान्वयन हुन सकेको छैन ।

यो पुल पहिले फलामे ‘बेलिब्रिज’ को रुपमा निर्माण भएको थियो ।  पुलमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् ।

सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको छ ।

पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुलको सुरक्षाका लागि एक पटकमा एक मात्र सवारी आवतजावत गराउनु पर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

स्थानीयले यो पुलको विकल्प खोज्नु पर्ने माग राख्दै आएका छन् ।

भारत सरकारले २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्र निर्माणको समयमा बनाएको यो पुलको आयु सकिएको छ ।

समयमै अर्को व्यवस्थापन नभएमा पुलले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुले बताएका छन् ।

पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति भएकोमा अहिले जति पनि वजन बोकेका सवारी साधनहरु ओहोरदोहोर गरी रहेका छन् ।

जोखिम बढ्दै गए पनि सम्बन्धित निकाय मौन बनेको छ ।