
काठमाडौं । नेपाल बिस्तारै सवारीसाधन आयातकर्ता मुलुकबाट उत्पादक बन्नेतर्फ अघि बढेको छ ।
दुई चर्चित मोटरसाइकल ब्रान्डहरू बजाज र टिभिएसले नेपालमै मोटरसाइकल तथा स्कुटर उत्पादन सुरु गरेसँगै अटोमोबाइल उत्पादनमा नेपालको यात्राले गति लिएको हो ।
व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो नेपालमा उत्पादन गर्न सुरु गरेको छ ।
अग्रणी औद्योगिक घराना गोल्छा ग्रुपअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाजका बाइक एसेम्बल गर्न थालेको दुई वर्ष भइसकेको छ । होन्डा र यामाहा ब्रान्डका दुईपांग्रे सवारीसाधनसमेत केही समयपछि नै मुलुकभित्रै उत्पादन सुरु हुनेछन् ।
शंकर र गोल्छा ग्रुप मात्रै होइन, पछिल्ला पाँच आर्थिक वर्षमा नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्देश्यसहित २५ वटा उद्योग दर्ता भएका छन् ।
ती उद्योगले कुल १८ अर्ब ६ करोड ८९ लाख रुपैयाँ लगानीका लागि स्वीकृति लिएको लगानी बोर्ड तथा उद्योग विभागको तथ्यांक छ । मोटरसाइकल, स्कुटर, कार, भ्यान, ट्रक, ट्र्याक्टरलगायत विभिन्न प्रकारका विद्युतीय तथा पेट्रोल–डिजेल सवारीसाधन एसेम्बलका लागि ती कम्पनीले अनुमति लिएका हुन् ।
दशकौँदेखि अटोमोबाइल आयातको व्यवसाय गरिरहेका औद्योगिक घरानाहरू अब उत्पादनमै आकर्षित हुन थालेका छन् ।
जगदम्बा मोटर्सले बाराको सिमरामा रहेको उद्योगबाट मोटरसाइकल तथा टेम्पो उत्पादन सुरु गरिरहेको छ ।
उद्योग विभागमा भएको तथ्यांकअनुसार यस उद्योगमा २४ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।
हुलास अटोक्राफ्टले नवलपरासीमा रहेको एसेम्बल प्लान्टबाट बजाजका विभिन्न मोडलहरू उत्पादन गर्दै आइरहेको छ ।
कुल २४ करोड लगानी रहेको यस उद्योगले मोटरसाइकल १२५ सिसी (ड्रम)का ४ हजार, मोटरसाइकल १२५ सिसीका ४ हजार र मोटरसाइकल १५० सिसीका १० हजार थान एसेम्बल गर्ने क्षमता राख्छ । आधुनिक उद्योगबाट बजाज बाइकसँगै तीनपांग्रे आरई टेम्पो पनि उत्पादन भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्