३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कैलाली भन्सारबाट लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन


0
Shares

बिराज रोस्यारा

कैलाली, साउन १ । आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सारले लक्ष्यको ८ प्रतिशत बढी अर्थात ४ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्षमा ३ अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा भन्सारले बढी राजस्व संकलन गरेको हो ।

जेठ महिनामा सबैभन्दा बढी अर्थात ४५ करोड ४३ लाख र असारमा ४२ करोड रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।

भन्सार कार्यालयले साउन र भदौ महिनामा भने लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको उनले जानकारी दिए । साउनमा २७ करोड १५ लाख लक्ष्य रहेकोमा १९ करोड ४३ लाख र भदौमा ३१ करोड तीन लाख लक्ष्य रहँदा २१ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

भन्सारमा लागू भएको राजस्व संकलनको नयाँ प्रणाली एक्सपोर्ट र इम्पोर्ट कोडका कारण आर्थिक वर्षको सुरुवाती दुई महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभएको हो ।

कैलाली भन्सार नाका भएर आयात बढ्दै गएकाले राजस्व संकलनको लक्ष्य पनि बढ्दै गएको सूचना अधिकारी उप्रेतीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४० प्रतिशत बृद्धि गरेर यो भन्सार कार्यालयका लागि पाँच अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको छ ।

कैलाली भन्सार नाका भएर बर्सेनि आयात बढ्दै गए पनि निर्यातमा भने बढोत्तरी हुन सकेको छैन ।

आर्थिक वर्ष २०७४/०७५ को असार २९ गतेसम्म कैलाली भन्सार भएर ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात भएको छ । भारततर्फ क्वारेन्टाइन चेकपोष्ट नरहेकाले वस्तु निर्यातमा बढोत्तरी हुन नसकेको भन्सार अधिकृत एवम् सूचना अधिकारी उप्रेतीले जानकारी दिए ।

कैलाली भन्सार नाका भएर आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । कुल आयातको ४५ प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको छ ।  यसैगरी, विस्कुटले ७ प्रतिशत, पेपरले ३ देखि ४ प्रतिशत, दालमोठ, पापड, नमकिन, भुजियाले २ देखि ३ प्रतिशत, स्प्रिटले १ देखि २ प्रतिशत कुल आयातको स्थान ओगटेको छ ।

कैलाली भन्सारले आर्थिक वर्ष २०७३/०७४ मा दुई अर्ब सात करोड रुपिया लक्ष्य पाएकोमा लक्ष्यभन्दा बढी दुई अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।