६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


नेपालको विकासमा गरेको सहयोगकाबारेमा विदेशी राजदूतहरु आक्रामक प्रचार–प्रसारमा


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असार १३ । नेपालको विकासमा आफ्नो मुलुकले गरेको सहयोगकाबारेमा विदेशी राजदूतहरु पछिल्लो समय आक्रामक प्रचार–प्रसारमा लागेका छन् ।

राजदूत वा नेताहरुले बोल्दा नेपालको कतिपय आन्तरिक मामिलामासमेत टिप्पणी आउने गरेको छ । तर, यस विषयमा नेपाल सरकार भने मौन देखिएको छ ।

नेपालको विकासको कुरा होस् वा राजनीतिक परिवर्तनको । संविधानका प्रावधान हुन् वा शान्ति–प्रक्रियाका कुरा ।

विदेशी राजदूत तथा नेताले बेलाबेलामा टिप्पणी गर्दै आएका छन् । जुन कतिपय अवस्थामा विवादित बन्ने गरेको छ भने धेरैजसोमाचाहिँ नेपाल सरकार चुपचाप बस्ने गरेको छ ।

पछिल्लो समय अमेरिका र चीनका राजदूत आफ्नो मुलुकले नेपालमा गरेको सहयोगका विषयमा सामाजिक सन्जालमार्फत् प्रतिस्पर्धी बनेका छन् । 

विकासका कुरामात्र होइन, नेपालको संविधानले चिन्दै नचिन्ने हिन्दू अधिराज्यका विषयमा अघिल्लो साता भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको टिप्पणी आयो ।

यसैगरी, धर्मकै विषयमा अमेरिकाकोसमेत प्रतिवेदन सार्वजनिक भयो ।

नेपालको शान्ति–प्रक्रियाकाबारेमा त ‘युएन’लगायतका धेरै राष्ट्रको बेला–बेलामा कडा टिप्पणी आइरहन्छ ।

नेपालीहरु सामाजिक सन्जालमा व्यस्त रहने गरेकाले राजदूतहरुले सामाजिक सन्जालमार्फत् कूटनीतिको अभ्यास थालेका छन् । 

विशेषगरी अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत हउ यान्छीले नेपालमा आफ्नो मुलुकले गरेका कामको चर्चा सामाजिक सन्जालमार्फत् गर्ने गरेका छन् ।

अमेरिकी राजदूत ट्वीटरमा एकदमै सक्रिय भएपछि केही दिनअघि चिनियाँ राजदूत यान्छीले पनि ‘अकाउन्ट’ खोलिन् ।

अमेरिकी राजदूत बेरीले पदभार सम्हालेदेखि नै खानेपानी, मातृ तथा बालस्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गरिएको सहयोगकाबारेमा फोटो तथा भिडियोसमेत राखेर ट्वीट गर्दै आएका छन् । 

उनले ह्यासट्याग क्लोजह्वेरइटकाउन्ट ( मार्फत् अभियानकैरुपमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगको चर्चा गर्ने गरेका छन् ।

अप्रिल ३ मा बेरीको ट्वीटमा अमेरिकाले नेपाललाई गर्दै आएका सबै सहयोग ऋण नभइ अनुदान भएको र अमेरिका नेपालका लागि सबैभन्दा ठूलो दाता भएको उल्लेख थियो । 

यता, चिनियाँ राजदूतको ट्वीटले चीनसँगको सहकार्यले नेपाललाई फाइदा पुगेको सन्देश प्रवाह गर्न खोजिएको छ ।

चिनियाँ राजदूत यान्छीले नेपालमा चिनियाँ सहकार्यबाट निर्माणाधीन हाइड्रोपावर, धानको उन्नत बाली विकासमा चीनसँगको सहकार्यलगायतका विषयमा चर्चा गरेकी छन् । 

राजदूतहरुको सामाजिक सन्जालमा देखिएको सक्रियतालाई चीनको ‘बीआरआई’ र अमेरिकाको ‘इन्डोप्यासेफिक’ रणनीतिको प्रचार–प्रसारकारुपमासमेत लिने गरिएको छ ।

त्यतिमात्र होइन, हालै एकजना चिनियाँ मूलका अमेरिकी नागरिकलाई नेपाल सरकारले विमानस्थलबाटै फर्काइदिएको घटनाकाबारेमा पनि अमेरिका र चीनबीच अघोषित वाकयुद्ध सुरु भएको छ ।

नेपालको आन्तरिक तथा अन्य जुनसुकै मामला किन नहोस्, विदेशी राजदूत वा नेताबाट आउने टिप्पणीप्रति नेपाल सरकार सजग हुनैपर्छ ।

तर, पछिल्लो समय राजदूत तथा नेताहरु आक्रामक बन्दै जाँदा नेपाल सरकार भने मौन बस्नुले ठीक सन्देश दिइरहेको छैन । यसैगरी अगाडि बढे नेपाल विदेशी स्वार्थको चेपुवामा पर्नसक्ने विश्लेषकहरु बताउँछन् ।