३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित


0
Shares

काठमाडौं, असार ३२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक स्थगन भएको छ ।

बैठकको सुरुआतमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत् डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए ।

सोहीक्रममा कांग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाइन् ।

उनको प्रश्न थियो–‘मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?’

उनले कांग्रेसले आमरण अनशनरत् डा. केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसदमा डा. केसी कांग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको बताइन् ।

सांसद भुषालले डा. केसी जीवनमरणको अवस्थामा रहेकाबेला संसद बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताएकी थिइन् ।

सभामुख कृष्णबहादुर महराले डा. केसीका मागबारेको विषय संसदमा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताएका थिए ।

उनले त्यसबारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ ? सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुपर्‍यो भनेर आग्रह गरेका थिए ।

तर, सभामुखको पटक–पटकको आग्रहपछि पनि कांग्रेसका सांसद आसनग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद बैठक स्थगनको घोषणा गरे ।

यसअघि, सोमबारै संसदमा कांग्रेसको अवरोधका कारण बैठक आधा घन्टाका लागि स्थगन गरिएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ । रासस