Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु धरासायी


0
Shares

विराटनगर, भदौ २० । कोरोना संक्रमण बढ्दा देशैभरका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् ।

कोरोना संक्रमितको संख्या बढिरहेकोले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगधन्दा, कलकारखाना आंशिकरुपमा चलेका छन् ।

कोरोना संक्रमितको संख्या बढेकै कारणले गरिएको ‘लकडाउन’ तथा निषेधाज्ञाले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु धरासायी भएका छन् ।

करिडोर क्षेत्रमा करिब ५०० उद्योग बन्द हुँदा दैनिक एक करोड ५० लाख हाराहारीमा घाटा हुने गरेको छ ।

आयात गरेका कच्चापदार्थ सड्ने, मजदुरलाई तलब-भत्ता भुक्तानी, माग गरिएको उत्पादित वस्तु उपलब्ध गराउन नसक्नु, बैंकको ब्याज र ड्यामरेज शुल्क भुक्तानी सबै जोड्दा उद्योगधन्दाको अवस्था धरासायी बनेको उद्योग संगठन मोरङको भनाइ छ ।

यता, प्रदेश नम्बर-१ को राजधानी विराटनगरका विभिन्न क्षेत्रमा व्यापार-व्यवसाय गर्दै आएका व्यापारीहरुको अवस्था पनि उस्तै दयनीय छ ।

गएको चार महिना लामो लकडाउनको सामना गरेको एक महिना बित्न नपाउँदै पुनः लकडाउन भोगेका विराटनगरका खुद्रा व्यवसायीहरु सटर भाडा, बैंक ब्याज, भ्याट, कर्मचारीलाई तलब तिर्न नसकेर आत्महत्या गर्ने स्थितिमा पुगेको बताउँछन् ।

बिहान-बेलुका हात-मुख जोड्न पनि निक्कै समस्या परेको उनीहरुको गुनासो छ ।

करिडोर क्षेत्रका ठूला उद्योग, कुटिर उद्योग, खुद्रा व्यवसायी, चिया पसल सञ्चालक सबैको घाटा जोड्ने हो भने दैनिक एक करोड ५० लाखको हाराहारीमा घाटा भएको हुनसक्ने उद्योगीहरुको अनुमान छ । त्यसको यकिन तथ्यांक भने छैन ।