Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सेती नदीमा बगेर बेपत्ता भएका युवा संघका नेता पुष्करको शव २६ दिनपछि भेटियो


0
Shares

डोटी, असार ६। गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघका  नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ । 

आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । पैँतालिस वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाकका नेता तथा कार्यकर्ता र स्थानीयवासी उनको खोजीमा लागे पनि फेला पर्न सकेका थिएन् ।

शुक्रबार बिहान शिखर नगरपालिकामा–१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता लालबहादुर धामीले जानकारी दिए । उनले भने, ‘सालमुनी मन्दिर नजिक शव बगिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि हामीलाई खबर गरेपछि हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ, मृतक सिंहका घरपरिवारसँग खबर गर्दैछौँ ।’

अहिले प्रहरी, नेकपाका नेता तथा स्थानीयवासीहरु शव फेला परेको स्थानमा पुगिसकेका छन् ।

परिवारिक सल्लाह पश्चात सिंहको अन्त्यष्टि गरिने विषयमा सल्लाह भईरहेको नेकपाका जिल्ला अध्यक्ष भक्तबहादुर मल्लले जानकारी दिए ।

सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन । उनको शव खोजीका लागि स्थानीय प्रहरी प्रशासन अहिलेसम्म लागि परे पनि फेला पार्न नसकेको उक्त कार्यालयले जनाएको छ । (रासस)