१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


जानकी मन्दिर परिसरमा योग शिविर, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत सहभागी


0
Shares

जनकपुर, असार ६ । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा आयोजित योग शिविरमा उनले सो कुरा बताएका हुन् ।

तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको प्रसङ्ग उल्लेख गर्दै उनले योग स्वस्थताका साथै सौहार्द्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष रहेको बताए ।

उपप्रधानमन्त्री यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राखे ।

प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनको स्वस्थताका लागि योग साधना गर्नु आवश्यक रहेको बताए ।

मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको विचार व्यक्त गरे ।

पतञ्जलि योगपीठ नेपालका प्रमुख लभदेव देव मिश्रको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक अनिल झा, प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश नंं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, योग शिविर संयोजक एवं प्रदेशसभा सदस्य कौशल यादवलगायत प्रदेशसभा सदस्यको पनि सहभागिता रहेको थियो ।

शिविरमा सहभागीहरूलाई योगपीठ प्रमुख मिश्रले योगाभ्यास गराएका थिए । (रासस)