
दुर्गा उपाध्याय
कञ्चनपुर, असार ५ । कञ्चनपुरका हावाहुरी पीडितले आफूहरुको समस्या सरकारले नहेरेको गुनासो गरेका छन् । देशमा तीन तहको सरकार भए पनि विपद्का बेला आफूलाई कसैले साथ नदिएको उनीहरुको गुनासो छ ।
स्थानीय र प्रदेश सरकार घर आँगनमै भए पनि कञ्चनपुरका हावाहुरी पीडितले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन् । गत जेठ २३ गते आएको हावाहुरीबाट कञ्चनपुरमा मानवीय क्षति नभए पनि झण्डै १८५ घरपरिवार प्रभावित भएका छन् ।
हावाहुरीले अधिकांशका घर भत्किएका छन् भने केराखेती, कुखुरापालनलगायतका व्यवसाय धरासायी भएका छन् । हुरीबाट पीडित भएको दुई साता बितिसक्दा पनि अहिलेसम्म कसैले सहयोग नगरेको कृष्णपुर ६ मौरीफाँटाका स्थानीय सुन्दरी विष्टको गुनासो छ ।
गत चैतमा बारा, पर्साका हावाहुरी पीडितलाई राहत बाडेका स्थानीय र प्रदेश सरकारले आफ्नै क्षेत्रका पीडितप्रति चासो नदेखाएको उनीहहरुको गुनासो छ । हावाहुरी पीडितलाई राहतका लागि ११ करोड २९ लाख खर्च गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
पीडित परिवारलाई क्षतिपूर्ति र राहत दिएर दुःखमा सहयोग गर्नुपर्ने जनप्रतिनिधिले नै सबैलाई राहत दिन नसकिने भन्दै तर्किएको स्थानीय चन्दा कठायत बताउँछिन् ।
हावाहुरीले भत्किएका घरहरुमध्ये कतिपय पुनर्निर्माण भएका छन् भने कतिपय अझै उस्तै छन् । विपद्मा परेका कतिपय विपन्न परिवारका घर नेपाली सेनाले पुनर्निर्माण गरिदिएका छन् । तर, स्थानीय सरकारले सहयोग नगरेपछि अहिले सेनाको टोली पनि फर्किएको छ ।
यता, प्रभावित क्षेत्रमा अनुगमन गरी तथ्यांक संकलनको काम सुरु गरेको स्थानीय सरकारले आसेपासेलाई मात्रै त्रिपाल लगायतका राहत बाडेको स्थानीय प्रदिप खड्काको आरोप छ ।
स्थानीय सरकारले भने पीडित परिवारको तथ्यांक संकलनको काम भइरहेको बताउँदै राहत वितरणको काम जारी रहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्