
जनकपुर, असार ५ । जनकपुरस्थित एक होटलमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटल पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
आज बिहान करिब ३ बजे ग्यास सिलिन्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका–२, कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य दुई गरी तीन वटा होटल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
होटलको भान्सामा राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ । ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । होटलभित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो ।
सुरुमा एउटा सिलिन्डर विस्फोट भएको र आगलागीका कारण थप ग्यास सिलिण्डरसमेत विस्फोट भएको बताइएको छ ।
होटलमा रातमा कोही पनि नबस्ने भएकोले कोही पनि घाइते वा मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्