२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भ्रष्टाचारविरुद्ध सैनिक अदालत: सहायक रथी राणासहित तीन जना बर्खास्त


26
Shares

काठमाडौं । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।

सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको छ ।

गत जेठदेखि राणा सेनाको राष्ट्रिय सेवा दलमा थुनामा थिए । स्रोतका अनुसार राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ । उनलाई सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको थियो ।

यसैगरी, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।

सैनिक अदालतको फैसला सैनिक ऐन, २०६३ बमोजिम भएको सेनाले जनाएको छ । साथै सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।

यसैगरी, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त०लाई सफाइ दिने गरी फैसला भएको छ ।

सेनाका एक उच्च अधिकारीले सेनाभित्र अब रिभर्स करप्सनले गति लिन थालेको र भ्रष्टाचार गरिसकेपछि म पहिला त्यहाँ कार्यरत थिएँ तर अब बचें भनेर मुक्त हुन सक्ने अवस्था नरहेको बताए । -राजधानी दैनिकबाट