Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


जोखिममा रेस्टुराँ : ३० अर्ब रुपैयाँ लगानी र ९० हजार जनशक्ती प्रभावित


0
Shares

काठमाडौं । कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो।

त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन्। अत्यधिक भीडभाड हुने यो क्षेत्र कोभिड—१९ को प्रकोप फैलिएसँगै पूर्णरूपमा प्रभावित छ।

लकडाउन हटे पनि विभिन्न कठिनाइका कारण राम्ररी सञ्चालन हुन सकेको छैन। केही व्यवसायीले व्यवसाय खोल्ने जाँगर देखाए पनि ग्राहकको अभाव छ। त्यसले गर्दा सञ्चालन खर्च मात्रै बढेको व्यवसायीको बुझाइ छ।

झम्सिखेलमा भिठो थकाली रेस्टुराँ सञ्चालन गर्दै आएका विप्लव भट्टलाई घरभाडा, कामदारको तलब, बैंकको ऋण कसरी व्यवस्थापन गर्ने भनेर चिन्ता छ। त्यसमाथि प्रत्येक दुई वर्षमा घरबहाल वृद्धि गर्ने सम्झौता छ। यो वर्ष घरबहाल वृद्धि गर्ने वर्ष परेको छ।

‘लकडाउनका कारण पहिलेकै भाडा तिर्न धौधौ छ’, उनले भने, ‘यस्तो अवस्थामा सम्झौताअनुसार घरभाडा वृद्धि गरेर तिर्न सक्ने अवस्था छैन।’

रेस्टुरेन्ट एन्ड बार एसोसियसनका अनुसार मुलुकभर ३ हजार ५ सयभन्दा बढी रेस्टुरेन्ट दर्ता छन्।

यसमा करिब ३० अर्ब रुपैयाँ लगानी छ। अहिलेको अवस्थाले यो लगानी जोखिममा परेको छ।

करिब ९० हजार जनशक्तिको रोजगारी जोखिममा परेको छ। अर्बौं विदेशी लगानी भित्रिने सम्भावना पनि टरेको छ। -अन्नपूर्ण पोष्ट दैनिकबाट