१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओली-प्रचण्ड: टुट्यो संवादहीनता, थपियो नयाँ विवाद


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि जारी संवादहीनता टुटे पनि उत्कर्षमा पुगेको पार्टी विवाद समाधानको विधि र प्रक्रियामा नयाँ असमझदारी थपिएको छ ।

ओली र प्रचण्डबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब तीन घन्टा छलफल भए पनि विवाद समाधानका लागि सहमति सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट खोज्ने भन्नेमा नयाँ विवाद थपिएको हो । १० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ ।

१३ साउनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए । यहीँबाट सुरु भएको दुई अध्यक्षको संवादहीनता आइतबार साक्षीसहित तोडिएको छ ।

तर, सोमबार पुनः बसेर छलफल गर्नेबाहेक छलफलमा कुनै प्रगति भएको छैन् । बरु, दुवै पक्ष आ–आफ्ना अडानमा कायमै छन् । र, विवाद समाधान सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट गर्ने भन्नेमा नयाँ विवाद थपिएको छ ।

छलफलमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई पनि छलफलमा सहजीकरणका लागि साक्षी राखेका थिए ।

अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट सुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने प्रचण्ड–वरिष्ठ नेता नेपाल समूहको माग यथावत् छ । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । आइतबार पनि दुवै पक्षले आ–आफ्ना अडान दोहो¥याएका छन् ।

‘तपाईंले आफ्नो इच्छाअनुसार एक पद छाडेर निकास दिनुस्,’ प्रचण्डको प्रस्तावमा ओलीको जवाफ थियो, ‘अहिले सम्भव छैन, दोहोर्‍याएर यो कुरा नगर्नुस् । बरु महाधिवेशनमा जाऔँ, बाँकी त्यहीँबाट टुंग्याउँला ।’ -नयाँ पत्रिका दैनिकबाट