२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेकपा विवाद जटिल मोडमाः ओली–माधव गोप्य भेटमा नयाँ प्रस्ताव


0
Shares

काठमाडौं । चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागेको प्रचण्ड–नेपाल समूह अब पार्टी बैठकबाट एक पद छाड्न निर्देशन दिने निष्कर्षमा पुगेको छ । तर, ओली समूह मंगलबारको बैठक टार्ने रणनीतिमा छ ।

सोमबार बिहान प्रचण्डनिवासमा भएको सचिवालयका चारसहित स्थायी कमिटीका केही सदस्यबीचको छलफलमा मंगलबारबाट चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो ।

‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न निर्देशन दिने गरी बैठक चलाउनुपर्छ भन्ने छलफल भएको छ,’ बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यले भने, ‘नियमित एजेन्डामा केही दिन छलफलपछि यस्तो निर्देशन आउन सक्छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ ।’

ओली–प्रचण्ड लगातार छलफल हुँदा पनि कुनै सहमति नबनेपछि नेकपाको विवादले नयाँ बाटो समात्न थालेको हो ।

ओलीले आफू दुवै पदबाट नहट्ने भन्दै हटाएर देखाउन चुनौती दिएका छन् । यस्तो वेला प्रचण्ड–नेपाल समूहको नयाँ रणनीति र ओलीको अडानले नेकपाको अन्तरकहल कहाँसम्म पुग्छ भन्ने अनिश्चितता थपेको छ ।

एकतर्फी बैठक चलाए पार्टी एकता भंग हुने बुझाइमा रहेको ओली समूह अल्पमत÷बहुमतको नाममा इतर समूह अघि बढ्न खोजे सबै चुनौती सामना गर्ने ‘मुड’मा छ ।

पार्टी एकताको मर्मअनुसार दुई अध्यक्षको सहमतिबाहिर कुनै निर्णय हुन नसक्ने ओली समूहको बुझाइ छ । तर, प्रधानमन्त्रीले पार्टीलाई बेवास्ता गर्दै एकतर्फी रूपमा सरकार चलाएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।

ओली–माधव गोप्य भेट
नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए केपी ओलीसँग सहकार्य गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । शुक्रबार अबेर रात बालुवाटारमा भएको छलफलमा नेपालले यस्तो प्रस्ताव राखेका हुन् ।

‘महाधिवेशनबाट पार्टी अध्यक्ष र त्यसअगाडि महाधिवेशन आयोजक समिति संयोजक बनाए सहकार्य सम्भव छ,’ नेपालले ओलीसँग राखेको प्रस्ताव उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । ओलीले थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने आश्वासन दिएका छन् । -नयाँ पत्रिका दैनिकबाट