Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कोभिडका विरामीलाई ह्याम्स अस्पतालमा दिनको ३० हजार नौ सय


0
Shares

काठमाडौं । ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क उठाएको छ ।

आफ्ना चालक दलका सदस्यहरूको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।

गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो ।

प्रतिदिन एकजनाको ३० हजार ९ सय रुपैयाँका दरले उनीहरूबाट रकम असुलिएको छ ।

जब कि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सामान्य संक्रमितको सरकारले दैनिक शुल्क १४ हजार पाँच सय ६ रुपैयाँ मात्रै तोकेको छ ।

ह्याम्सले १४ जनाको पाँच दिनको २६ लाख ७१ हजार चार सय २६ रुपैयाँको बिल नेपाल वायुसेवा निगमलाई पठाएको छ ।

एकजना बिरामीबाट बेडचार्ज सात हजार पाँच सय, कोभिड चार्ज दश हजार, नर्सिङ चार्ज चार हजार आठ सय, डाक्टरको शुल्क तीन हजार, इन्फेक्सन कन्ट्रोल दुई हजार, हाउसकिपिङ दुई हजार, खाना तथा पेयपदार्थको एक हजार ६ सय गरी ३० हजार नौ सय उठाइएको छ ।

त्यसमा औषधिको शुल्क जोडेर प्रतिव्यक्ति न्यूनतम एक लाख ७८ हजार दुई सय ७६ देखि दुई लाख १७ हजार ६ सय १९ रुपैयाँसम्म उठाइएको छ ।नयाँ पत्रिका दैनिकबाट