काठमाडौं, जेठ १३ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले विभिन्न ९ ओटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, प्रहरी समायोजन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक र ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
यस्तै, वन विधेयक, वातावरण संरक्षण विधेयक, विज्ञापन नियमन गर्ने विधेयक र भूमिसम्बन्धी आठौं संशोधन विधेयक पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको हो ।
यस्तै, सोमबारको बैठकमा अर्थ समितिको वार्षिक प्रतिवेदन २०७६, कानुन, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन र राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस भएका छन् ।
यसअघि, सोमबार बसेको बैठकको शून्य समयमा डा. मीनेन्द्र रिजाल, मीना सुब्बा, रंगमती शाही, हिरा गुरुङ, ज्ञानकुमारी छन्त्याललगायतका सांसदले दिन–प्रतिदिन शान्ति–सुरक्षाको अवस्था नाजुक हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्