Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


विस्फोटका घटनामा मारिने सर्वसाधारण होइनन् : गृहमन्त्री, संसदमा जुहारी


0
Shares

काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा आइतबार भएका विस्फोटका घटनामा मृत्यु हुनेमा सर्वसाधारण नभइ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताएका छन् ।

देशका विभिन्न ठाउँमा भएका विस्फोटका घटनाबारे सोमबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै उनले मारिएका चारजना र घाइते ६ जना चन्द समूहकै कार्यकर्ता भएको बताए ।

गृहमन्त्री थापाले चन्द समूहको मुख्य निशाना काठमाडौंमा परेको र उसले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको पनि जानकारी दिए ।

उनले चन्द समूहले जनसरकार गठन गरेको र सेनाका चार कम्पनी पनि गठन गरेको बताए ।

उनले चन्द समूहले संविधान र राज्य व्यवस्थाविरोधी गतिविधि गरिरहे पनि मूलधारमा ल्याउने प्रयास भइरहेको बताए ।

सरकार अझैपनि वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने पक्षमा रहेको गृहमन्त्रीको भनाइ छ ।

सांसद र गृहमन्त्रीबीच जुहारी

आइतबार काठमाडौंलगायतका ठाउँमा भएका बम विस्फोटलाई लिएर सोमबार संसदमा प्रतिपक्ष दलका सांसद र गृहमन्त्री थापाबीच जुहारी चलेको छ ।

बैठकमा गृहमन्त्री थापाले विस्फोटका घटनाबारे जानकारी गराएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई पूरक प्रश्न सोध्न समय दिएका थिए ।

गृहमन्त्रीलाई सांसद देवन्द्रराज कँडेल र अमरेशकुमार सिंहले एउटा कम्युनिस्ट पार्टी सरकार चलाउने र अर्कोले बाहिर बसेर नागरिकको आवाज दबाउने साँठगाँठ त गरिरहेको छैन ? भन्दै प्रश्न गरे ।

जवाफमा गृहमन्त्री थापाले साँठगाँठबारेको प्रश्न नाजायज भएको भन्दै प्रश्नलाई उल्ट्याएर हेर्दा कतै प्रश्नकर्ताहरुकै चन्द समूहसँग सम्बन्ध त छैन ? भन्नसकिने बताए ।

गृहमन्त्रीको प्रतिप्रश्नमा पूर्वगृहराज्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद कँडेलले आपत्ति जनाउँदै विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ ? भन्दै संसदमा जानकारी दिन नभए सो भनाइ रेकर्डबाट हटाउन माग गरे ।

प्रतिपक्ष सांसदको मागपछि सभामुख महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताए ।