
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
ललितपुर, असार ९ । काठमाडौं उपत्यकामा पानी वितरण प्रणाली मौलिक हिति सम्पदाको छुट्टै महत्व रहेको छ । अव्यवस्थित सहरीकरणको कारण धेरै हितिहरुको अस्तित्वसमेत नासिसकेको छ ।
पाटनका जागरुक र सचेत युवाहरु यतिबेला भने हिति सम्पदा ब्युँताउने अभियानमा जुटेका छन् ।
नेपालमण्डलको सभ्यतासँग यिति अथवा हिति सम्पदा अभिन्न अंगको रुपमा जोडिएर रहेको छ । मानव सभ्यताको विकासक्रमसँगै कला र संस्कृतिको पनि विकास हुँदै आएको हो ।
यसैबीच, नेपालमण्डलको सभ्यतामा लिच्छविकालभन्दा अघिदेखि पानी वितरण प्रणालीको विकासका लागि कलात्मक र साँस्कृतिकरुपमा मौलिक पहिचान बोकेको हिति सम्पदा पनि विकसित भएको पाइन्छ ।
लिच्छविकालअघिदेखि हालसम्म जीवित धरोहरको रुपमा हिति र गुथि व्यवस्था नै पाउँछौं । यी दुईकोमात्र अध्ययन गर्ने हो भनेपनि लिच्छविकालको समयमा नेपाल कति समृद्ध र विकसित थियो भने थाहा पाउँछौं ।
वर्तमान अवस्थामा अव्यवस्थित सहरीकरणको कारण यो सम्पदा नासिनेक्रममा छ ।
ललितपुरमा मात्र १४० भन्दा बढी पुरातात्विक महत्वका हितिहरु रहेका छन् । तर, विकासको नाममा यी सम्पदा मासिएर ६१ वटामा सीमित भएको छ ।
त्यसैले जागरुक स्थानीय वासिन्दा र युवाहरु हिति संरक्षणमा तीव्ररुपमा लागेका छन् । जसका कारण ४२ वटा हितिहरु संरक्षण भई चौबिसै घन्टा पानी बग्न थालेका छन् ।
हाम्रा पुर्खाले यहाँ जाडोमा तातो र गर्मीमा चिसो पानी बग्ने, विभिन्न खनिजपदार्थ र स्वादको पानी निस्कने हितिहरु टोल–टोलमा निर्माण गरेका थिए ।
पाटनको लुँ हिति अथवा सुनको हितिबाट पनि पानी बग्न थालेको छ भने बालबालिकालगायत सबै यहाँको पानीमा रम्न थालेका छन् ।
हिति सम्पदा संरक्षण अभियन्ता सुदर्शन महर्जनकाअनुसार पुर्खाको ज्ञान, सीप र प्रविधिलाई भावी पुस्तामा हस्तान्तरण गर्न हिति संरक्षण गर्नैपर्छ ।
हिति प्रणाली हाम्रो धार्मिक र साँस्कृतिक परम्परासँगसमेत जोडिएको छ । त्यसैले बढ्दो अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गरी पानीको विभिन्न मूल र स्रोतहरुलाई संरक्षण गरेरमात्र हिति सम्पदा बचाउन सकिन्छ ।
यसको लागि सरकार, स्थानीय तह र बासिन्दाको सहकार्य अपरिहार्य रहेको छ ।
विगतमा हितिहरु निर्माण, व्यवस्थापन, सरसफाइ, रेखदेख, मर्मत, नियमनका लागि गुथिसमेत राखेको हुनाले गुथिलाई संरक्षण गर्नुपनि सबैको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्